जनता आवास कार्यक्रमले घर निर्माणमा ढिलाइ गर्दा दरबार गाउँपालिका–१ का बोेटे (माझी) समुदाय समस्यामा परेका छन् । यही असार मसान्तसम्ममा ५० घर निर्माण गरिसक्ने सम्झौताअनुसार काम नहुँदा न्यून आय भएका स्थानीय माझी समुदायलाई बर्खा बिताउन समस्या भएको छ ।
सरकारले नयाँ घर बनाइदिने आसमा रहेका माझी परिवार अहिले न पुरानो, न नयाँ घरको अवस्थामा पुगेका छन् । नयाँ पक्की घर बन्ने आसमा पुरानो घर भत्काएका स्थानीय वर्षात्का वेला पालमुनि बस्न बाध्य छन् ।
पाँच महिनामा ५० घर निर्माण गर्ने सम्झौता
पाँच महिनामा ५० घर निर्माण गरिसक्ने सम्झौताअनुसार गएको मंसिरदेखि सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम थालेको थियो । तर, ठेकेदारले समयमै काम नगर्दा भवन निर्माण अलपत्र परेको स्थानीय कृष्ण माझीले बताए ।
आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पाले ०७५ असार मसान्तभित्रमा ५० घर निर्माण सक्न उपभोक्ता समितिलाई जिम्मा दिएको थियो । तर, समितिले अर्कै व्यक्तिलाई घर निर्माणको ठेक्का दिएको छ । उपभोक्ता समितिका अध्यक्ष होम माझीले सम्झौता अवधिमा २० घर पनि निर्माण हुन गाह्रो रहेको बताए । उनले भदौ मसान्तसम्म ३५ घर निर्माण गरिसक्ने दाबी गरे ।
अधिकांश घरको जग मात्रै
‘चुनावमा नेताहरूले चाँडै घर बन्छ भनेका थिए,’ ६१ वर्षीया कृष्णकुमारी माझीले भनिन्, ‘त्यतिवेला नेता भोट माग्न आउँदा भगवान् आएजस्तै लाग्थ्यो, तर अहिले त कोही पनि आउँदैनन् । बर्खामा साह्रो बिजोग भयो । नयाँ घरमा बस्न पाइएलाजस्तो छैन ।’
माझी बस्तीको निर्माण गएको मंसिरदेखि सुरु भएको हो । तर, आठ महिना बितिसक्दा पनि अधिकांश भवनको जग दुई हातमाथि उठेको छैन । अहिलेको काम गराइले माझी बस्तीको निर्माण तुरुन्तै हुने अवस्था नरहेको भवन निर्माण कार्यको स्थलगत अनुगमन गरेका पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।
काम नगर्ने ठेकेदारलाई कारबाही गर्छौ : जिसस प्रमुख
वर्षात्का वेला पालमुनि बस्नुपर्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पालमुनि बसेको लामो समय भए पनि आफूहरूको अवस्था बुझ्न अहिलेसम्म कुनै सरकारी निकाय नआएको गुनासो माझी समुदायको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारबाही गरिने बताए ।
आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख इन्जिनियर रमेश थपलियाले सम्झौताअनुसार काम नभए भुक्तानी रोकिने बताए । ‘समयमै काम गर्नका लागि उपभोक्ता समितिसँग सम्झौता गरेको हो,’ उनले भने, ‘सम्झौताअनुसार गुणस्तरीय काम भए नभएको मूल्यांकनपछि मात्र रकम भुक्तानी गर्नेछौँ ।’ उनले उपभोक्ता समितिले ठेकेदारलाई कामको जिम्मा दिएको विषयमा कार्यालयलाई कुनै जानकारी नभएको दाबी गरे ।
निर्माण सामग्री जुटाउनै समस्या
नयाँ पक्की घर बन्ने आसमा पुराना झुपडी भत्काएका स्थानीय अहिले त्रिपालमुनि बसिरहेका छन् । घरका लागि आवश्यक काठ, बालुवा, गिटी, ढुंगालगायतका निर्माण सामग्री सम्बन्धित घरधनी आफैँले जुटाउनुपर्ने भएकाले पनि समयमै काम हुन नसकेको स्थानीय शंकर माझीले बताए ।
पालमुनि बस्दा घामपानी दुवै मौसममा समस्या हुने गरेको स्थानीय दलबहादुर माझीले बताए । ‘चर्को घाम लाग्दा र पानी पर्दा त्रिपालमुनि बस्न साह्रै गाह्रो हुनेरहेछ,’ दलबहादुरले भने, ‘यो देशमा जसले जे गरे पनि हुँदो रहेछ । ठगिने, दुःख पाउने आखिर गरिबले नै रहेछ ।’
Post a Comment